काठमाडौं, चैत २६ - सत्तारुढ एमालेले बहिष्कार जारी राखेपछि बुधबार पनि व्यवस्थापिका संसद बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।
बैठक बीचमै एमाले सभासद् रामजीप्रसाद शर्माले सदन बहिष्कारको घोषणा गरेपछि कांग्रेस लगायत दलका सभासदले समर्थन जनाएका थिए । कांग्रेस सभासद शोभाकर पराजुलीले सत्ताधारी दललेनै बहिष्कार गरेपछि बैठकमा सहभागि हुनुको अर्थ नरहेको बताएका थिए । बुटबल घटनाका दोषी सुजित विकलाई पक्राउ नगरेसम्म सदन चल्न नदिने एमालेले अडान राख्दै आएको छ ।
संसद बैठक २९ गते शनिबारसम्मको लागि स्थगित भएको छ । यसअघि पोखरामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले बुधबारदेखि एमालेले सदन सुचारु हुन दिने बताएका थिए ।
बहिष्कारअघि नेपाली कांगे्रसका नेता प्रकाशशरण महतले माओवादीले एकलौटी शासन लाद्न खोजेको आरोप लगाएका थिए ।
उनले जनसेना सेना समायोजन विशेष समितिको मातहतमा भएकाले त्यसलाई चलाउने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका थिए ।
'माओवादी विभिन्न बहानामा लडाकुलाई शिविरबाट बाहिर ल्याएर जनतामा त्रासको वातावरण पैदा गरेको छ ।' उनले भने, 'माओवादीले व्यवहारमा सुधार नल्याए हामी त्यस विरुद्ध संघर्ष गर्न तयार छौं ।'
एमाले सभासद सावित्री भुषालले माओवादीले सुजित विकलाई कारबाहीको बहाना मात्र गरेको बताइन् । उनले माओवादीले एमाले कार्यकर्तालाई कुटपीट गर्दै गए सत्ता समीकरणबारे सोच्न बाद्य हुने चेतावनी समेत दिइन् ।
सुजित विक बुटवल घटनाका दोषी हुन् । उनी मंगलबार राजधानीबाट फरार भएका छन् । उनलाई बुधबार बसेको माओवादी केन्द्रीय संचिवालय बैठकले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरिसकेको छ ।
माओवादी नेता सीपी गजुरेलले देशको शान्ति सुरक्षाको जिम्मा लिएको माओवादीले बुटवल घटना घटाएको भन्ने आरोप सामान्य मानिसले पनि सोच्न नसक्ने बताए ।
उनले माओवादीको लक्ष्य जनगणतन्त्र भए पनि संसदीय प्रक्रियाबाट आफ्नो लक्ष्यमा पुगेको दाबी गरे । 'हामी संसदीय प्रक्रियाबाट जनगणतन्त्रमा पुग्न तयार छौ ।' उनले भने, 'त्यसकारण अरुलाई चिन्ता लागेको छ र हल्ला गर्छन् ।'
उनले एमाले सुविधा लिने वेला सत्ता पक्ष र नलिने समय प्रमुख प्रतिपक्षको भुमिका निर्वाह गरेको आरोप लगाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सभासद एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राज्य पूर्नसंरचना आयोग बनाउन पर्ने माग गरे । उनले बल प्रयोग गरेर अधिकार पाइन्छ भन्ने मानसिकताको विकास हुँदै गएकाले यसको अन्त्य हुनु पर्ने बताए ।
मंगलबार बसेको व्यवस्थापिका संसदको बैठक सत्तारुढ दल एमाले र प्रतिपक्षी कांगे्रसले बहिष्कार गरेपछि बुधबारसम्मका स्थगित भएको थियो ।

0 comments:

Post a Comment